काठमाडौं । बुटवल उपमहानगरपालिका–११ स्थित कालिकानगरकी एक महिलाको मलामी गएकाहरुमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढ्दै गएको छ ।
साउन १७ गते कालिकानगरकी ४९ वर्षीया महिलाको चितवनको भरतपुर क्यान्सर अस्पतालमा मृत्युपश्चात उनको दाहसस्कारका लागि गएका मानिसहरुमा कोरोना संक्रमण देखिन थालेको हो ।
उनको दाहासस्कारमा सहभागी भएकामध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्यको रिपोर्ट आउन बाँकी छ ।
सो अस्पतालले उनको मृत्यु कोरोनाका कारण नभई किमोथेरापीको क्रममा हृदयघातले मृत्यु भएको भनी शव मृतकको परिवारजनलाई हस्तान्तरण गरेको थियो ।
यस किसिमका घटना नेपालमा धेरै नै भएका छन् । यस्तै, सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
मिर्चैया नगरपालिका–४ कुथनमाका ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको थियो । रुघाखोकी र ज्वरोबाट ग्रसित थिए भएका उनमा कोरोनाको जस्तो लक्षण देखा परेपछि मंगलबार ती पुरुषको स्वाब लिइएको थियो ।
उनको रिपोर्ट आउनु पूर्व बुधबार नै गाउँलेहरुले हिन्दु रितिरिवाजअनुसार दाहसंस्कार गरेका थिए । दाहसंस्कारपछि साँझ मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि गाउँमै त्रासमा छ ।
दाहसंस्कार गर्ने क्रममा १५० भन्दा बढी मानिस सहभागी भएका थिए । यसैबीच, सिरहामा तीन जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।