काठमाडौं । नेपाल-भारत पेट्रोलियम तथा ग्यास जोइन्ट वर्किङ ग्रुपको दोस्रो बैठक सम्पन्न भएको छ । नेपालले अघि बढाउन लागेको पेट्रोलियम भण्डारण तथा पाइपलाइन परियोजनामा भारतीय सहयोग र परियोजना निर्माणमा देखिएका समस्याहरुबारे मूल्यांकन गर्न बैठक केन्द्रित रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
पहिलो चरणको पाइपलाइनपछि अमलेखगन्जमा थप भण्डारण गृह निर्माण, अमलेखगन्ज लोथर पेट्रोलियम पाइपलाइन विस्तारको विषयमा दुई पक्षबीच छलफल भएको मन्त्रालयका सहसचिव पे्रम कुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, सिलगुढी-झापा दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन तथा रुपन्देहीसम्म प्राकृतिक ग्याँस पाइपलाइन विस्तारको विस्तृत सम्भाव्यता अध्ययन र चुनौतीबारे बैठक केन्द्रित थियो ।
‘निगमले अघि बढाउन लागेको पेट्रोलियम परियोजना र त्यसमा भारतीय आर्थिक, प्रविधिक सहयोग तथा आगामी दिनमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भयो,’ सहसचिव श्रेष्ठले भने ।
यसअघि नै लागत अध्ययन भएका आयोजना समयमै अघि नबढाउँदा लागत थपिएको, अध्ययनको चरणमा रहेका आयोजनाहरुमा देखिएका आयोजनाका चुनौती र त्यसलाई हल गर्ने विषयमा बैठक केन्द्रीत भएको मन्त्रालयले जनाएको छ ।
यस्तै नेपालमा भारतीय विकास आयोजनाबारे परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतबीच भएको छलफलमा पनि यस विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।