काठमाडौं । पर्यटन व्यवसायको पुनर्उत्थानका लागि कार्यदल गठन गरिएको छ ।
कोरोना भाइरसका कारण नराम्रोसँग प्रभावित पर्यटन क्षेत्रलाई पुनर्उद्धारका लागि सार्वजनिक-निजी-साझेदारी (पीपीपी) अवधारणाअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।
सो कार्यदलको संयोजकत्वमा नेपाल पर्यटन बोर्डका सिइओ डा. धनन्जय रेग्मी छन् । उनका अलवा संरक्षक र निजी क्षेत्रका ठूला संघसंस्थाबाट प्रतिनिधित्व गर्ने ६ अध्यक्ष संस्थागत संरक्षक छन् ।
कार्यदलले तत्काल पर्यटनका गतिविधिलाई सुरक्षित ढंगले कसरी अगाडी बढाउन सकिन्छ भन्नेबारे समेत अध्ययन गरी सुझाव दिने बताइएको छ । निराश हुँदै गएका व्यवसायी तथा मजदूरका लागि लयाउन सकिने आर्थिक प्याकेज तथा सहायताको मार्ग पहिल्याउनसमेत कार्यदलले काम गर्ने बोर्डले जनाएको छ ।
कोभिड-१९को महामारीले आमनेपालीको हरेक क्षेत्रमा प्रभाव पारेको छ । यसले अर्थतन्त्रका सबैजसो अवयवलाई प्रभावित बनाएको छ । त्यसमा सबैभन्दा बढी प्रभावित पर्यटन बनेको छ । सोहीकारण यस पटक पुनरुद्धार र पुनर्उत्थानका लागि बोर्डको अवधारणा अनुसार सार्वजनिक-निजी-साझेदारी मोडलमा टास्कफोर्स गठन भएको हो ।
सो कार्यदलमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी छन् । त्यसैगरी, विज्ञ सल्लाहकारमा होटेल द्वारिकाकी प्रवन्ध निर्देशक अम्बिका श्रेष्ठ, टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्त मिश्र, बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, पर्यटन बोर्डका पूर्वसीईओ प्रचण्डमान श्रेष्ठ, यति एयरलाइन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पालगायत संलग्नता छ ।