काठमाडौं । पछिल्लो केही दिनयता उकालो लागेको सेयर बजारमा बुधबार सबैभन्दा बढी रकमको कारोबार भएको छ।
यस दिन ११ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। जुन अहिलेसम्मकै सबैभन्दा बढी रकम हो । यसअघि हिजो मात्रै ११ अर्ब ३५ करोडको कारोबार भएको थियो। कारोबारमा उत्साह देखिँदा पनि नेप्से परिसूचक भने घटेको छ।
यस दिन परिसूचक १३ अंकले घटेर २७८० मा कायम भएको हो। समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ ७, ब्यापार ३५, होटल तथा पर्यटन १४ र फाइनान्स १ अंकले बढेका छन्।
विकास बैंक ५१, जलविद्युत ६०, निर्जीवन बीमा १५७, उत्पादन ६६, अन्य २७, माइक्रोफाइनान्स ८ र जीवन बीमा समूह २८ अंकले घटेका छन्। परिसूचक घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
यस दिन १० प्रतिशत मूल्य बढेका कम्पनीमा समता लघुवित्त, रुरु जलविद्युत, गोर्खा फाइनान्स, नेपाल फाइनान्स र कर्णाली विकास बैंकको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। राधि विद्युतको ८, युनाइटेड इदी मर्दीको ७ तथा विशाल बजार कम्पनीको ५ प्रतिशत बढी मूल्य बढेको छ।
यस दिन ङादी ग्रुप पावरका लगानीकर्ताले सबैभन्दा धेरै ६.८ प्रतिशत मूल्य घटेको छ।
नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै ५५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। सो कम्पनीको २.१९ प्रतिशतले मूल्य घटेको छ।
त्यस्तै नेसनल लाइफ इन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य १.५ प्रतिशतले बढेको छ। नेसनल हाइड्रोपावर, राधी विद्युत र सगरमाथा इन्स्योरेन्स कम्पनी पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।