काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले इन्धनको मूल्य समायोजन गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी निगमले वाइडबडीको भाडामा १३ प्रतिशत र न्यारोबडीको भाडामा १५ प्रतिशतसम्म कटौती भएको जनाएको हो ।
निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार नियमित उडान सुरु भएपछि अरू गन्तव्यको हवाई भाडा समायोजन गरिनेछ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेसँगै वायु सेवा निगमले भाडा पनि घटाएको छ ।
आयल निगमले हिजो हवाई इन्धनको मूल्य २० प्रतिशत घटाउने निर्णय गरेको थियो । यसअघि नेपालमा भरिने अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अत्यधिक महँगो भएको भन्दै वायु सेवा निगमले मूल्य समायाेजनका लागि आग्रह गर्दै आएको थियो ।