मंसिर ०७, २०८१, शुक्रबार
               

तनहुँका ९ स्थानीय तहले ल्याए साढे ६ अर्बको बजेट

नेपाल फ्ल्यास
असार ११, २०७८

ADVERTISEMENT

दमौली । तनहुँ जिल्लाका १० मध्ये ९ पालिकाले आगामी आर्थिक वर्ष ०७८–७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र ६ गाउँपालिकाले एकैदिन आगामी वर्षको लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् । 

जिल्लाका स्थानीय तहले ६ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन ।

राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए । भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ । 

स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । संघ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ ।

जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले एक अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

चालु वर्षको तुलनामा २५ करोड रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताइन् । उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको छ । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ । 

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा तीन करोड रुपैयाा बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले एक अर्ब ६ करोड ८६ लाख २० हजार रुपैयाँको बजेट सार्वजकि गरेको छ ।

भिमाद नगरपालिकाले ५८ करोड ५६ लाख आठ हजार रुपैयाँको बजेट पेश गरेको छ । उपप्रमुख शारदा खनालले पेश गरेको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ । 

म्याग्दे गाउँपालिकाले ६५ करोड ८२ लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले ६१ करोड ७० लाख ६१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले ५१ करोड ३४ लाख एक हजार ५०० रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । 

ऋषिङ गाउँपालिकाले ५२ करोड रुपैयाँ र देवघाट गाउँपालिकाले ४८ करोड ६९ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले ४६ करोड ३४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि