मंसिर ०७, २०८१, शुक्रबार
               

दुग्ध उत्पादक किसानलाई अनुदान

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान प्रदान गरेको छ । दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा एक रुपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।

गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो ।

उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर रु एकका दरले अनुदान दिँदा कूल एक लाख ६२ हजार रुपैयाँ वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ ।

जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उनले बताए । गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।

उक्त सहकारीमा आबद्ध किसानलाई रु एकका दरले १०० किसानलाई अनुदान दिँदा ९ लाख ५२ हजार रुपैयाँ वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।

‘उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘दूधमा पाँच हजारदेखि बढीमा ३६ हजार रुपैयाँसम्म अनुदान पाउने किसान रहेका छन् ।’

गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । दुग्ध उत्पादक किसानलाई मात्रै कूल ११ लाख १२ हजार रुपैयाँ अनुदान वितरण गरिने उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि