मंसिर ०७, २०८१, शुक्रबार
               

टेलिकमले ज्येष्ठ नागरिकलाई निःशुल्क सिम दिने

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा नेपाल टेलिकमले देशभरका ज्येष्ठ नागरिकलाई निःशुल्क सिम प्रदान गर्ने भएको छ । यही असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई टेलिकमले निःशुल्क सिम वितरण गर्न लागेको हो ।

टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार उक्त सिममा १० रुपैयाँ ब्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्न सकिने, २० वटा सन्देश पठाउन मिल्ने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा छ ।

उक्त सुविधा एक महिनासम्म उपलब्ध हुने उनले बताए । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ ।

टेलिकमका देशभरका कार्यालयका काउन्टरबाट ज्येष्ठ नागरिकले उक्त सुविधा उपलब्ध हुनेछ । सो सुविधाका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र बुझाउनु पर्नेछ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले जेष्ठ नागरिकलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने टेलिकमले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि