तुलसीपर उपमहानगरपालिका– १० निवासी यादव भण्डारीले भण्डारी माछापालन एण्ड कृषि फर्ममार्फत आफ्नै जग्गामा व्यावसायिक रुपमा माछापालन गरिरहेका छन् ।
उनले पालन गरेका माछा अहिले दाङका बजारमा निकै माग हुने गरेको छ । उनले सात वर्षदेखि एक बिघा क्षेत्रफलमा तीन पोखरी बनाएर माछापालन गरिरहेका छन् । यसबाट उनले वार्षिक १५ देखि २० लाखसम्म आम्दानी गरिरहेका छन् । “आफ्नै जग्गामा यसरी व्यावसायिक माछापालन गर्न थालेका सात वर्षभयो”,उनले भने,“यसबाट वार्षिक १५÷२० लाख आम्दानी हुने गरेको छ ।” ग्रास, सिल्भर, कमन, राहु, नैनी जातका माछापालन गरिरहेका छन् । ती माछा जिल्लामा मात्रै होइन्, बाँके, बर्दिया, सल्यान र कैलालीसम्म पुग्ने गर्छन् ।
अहिले दाङ तथा आसपासका क्षेत्रमा माछाका भुरा पाइदैन । यसले गर्दा पनि टाढाबाट माछाका भुरा ल्याउनुपर्ने अवस्था छ । उनले चितवनबाट माछाका भुरा ल्याउने गर्छन् । उनले भने “ केही समयपछि आफै नै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु । ” आफ्नो थप जग्गामा पोखरी बनाएर माछाका भुरा उत्पादन गर्ने तयारी रहेको उनको भनाइ छ । “अहिले बाहिरी जिल्लाबाट माछाका भुरा ल्याउनुपर्छ”, उनले भने,“अब म दाङमै माछाका भुरा उत्पादन गर्ने तयारी गरेको छु, यसले दाङ तथा आसपासका अन्य जिल्लालाई पनि सहज हुन्छ ।”