बलिउड स्टार (अभिनेता, लेखक तथा प्रोड्युसर) कमाल रसिद खानले नेपालबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
कमाल रसिद खानले नेपालबारे नयाँ जानकारी पाउँदा आफू आश्चर्यमा परेको बताएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा उनले 'नेपाल दक्षिण एशियाकै पहिलो स्वतन्त्र र बुद्ध जन्मिएको देश' भएको थाहा पाउँदा आफुलाई अनौठो लागेको उल्लेख गरेका छन् ।
उनले भारत धेरै साना राज्यमा विभाजित रहेको र बेलायतीहरुले ती सबैलाई एकजुट गराएर एकीकृत भारत बनाएको पनि बताएका छन् । उनले लेखेका छन्, ‘त्यसैले खासमा बेलायतहरुले भारत बनाएका हुन् ।’
I am surprised to know that Nepal is the first ever independent country of South Asia and #Buddha was from Nepal only. India was Fragmented in many small states and Britishers brought all of them together to unified India. So actually Britishers made India.
— KRK (@kamaalrkhan) May 28, 2020
अधिकांश प्रयोगकर्ताहरुले 'कमाल खानले इमानदार भएर तथ्य लेखेको' कमेन्ट गरेका छन् । केही प्रयोगकर्ताले 'अन्य व्यक्तिहरुले झुटो तथ्य लेखेको' भन्दै व्यङ्ग्य समेत गरेका छन् ।
शरद् नामका एक प्रयोगकर्ताले लेखेका छन् – 'यो सबै जान्नका लागि स्कुल जानुपर्थ्यो , सर । तपाईलाई यो सबै थाहा पाउन यति धेरै समय लाग्यो । केही छैन, पढ्न र सिक्नका लागि कुनै उमेर हुँदैन । त्यसो त तीन खान (आमिर, सलमान, शाहरुख) लाई यति पनि थाहा छैन ।'
कतिपय प्रयोगकर्ताले भने कमाल खानलाई इतिहास थाहा नभएको टिप्पणी समेत गरेका छन् । नेपाली प्रयोगकर्ताले कमालको प्रशंशा गरिरहदाँ भारतीय प्रयोगकर्ता भने कोही कमालको पक्षमा छन् त कसैले गलत लेखेको भन्दै विरोध गरेका छन् ।
कमाल रसिद खानले सन् २००८ मा प्रदर्शनमा आएको देशद्रोही फिल्ममा मुख्य भूमिकामा प्रस्तुत भएका थिए । उक्त फिल्मका लेखक तथा निर्मार्ता पनि उनी आफैं हुन् ।
त्यस्तै २०१४ मा प्रदर्शनमा आएको ‘एक भिलेन’ फिल्ममा उनी अतिथि कलाकार थिए । उनले यसबाहेक सितम, मुन्ना पाण्डे बेरोजगार लगायत फिल्म समेत निर्माण गरेका छन् ।
सन् २००९ मा बिग बोस सिजन ३ मा उनी सेलिब्रेटी कन्टेस्टेन्टका रुपमा देखिएका थिए ।