एक वर्षपछि जेल परेर अभिनेता पल शाह रिहा भएका छन् ।
उच्च अदालत पोखराको फैसलाअनुसार उनी आज सोमबार रिहा भएका हुन् ।
पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय नभ्याएर प्रक्रिया पूरा गर्न नपाउँदा उनी छुटेका थिइनन् ।
रिहा भएपछि उनी काठमाडौँ आउने बताइएको छ । एक गायिकालाई सुटिङका क्रममा बलात्कार गरेको आरोप पलमाथि लागिको थियो ।२०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा ती गायिकाले उजुरी दिएकी थिइन् ।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् । बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।