मुम्बई । विश्वभर फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण ठूला व्यक्तिहरू पनि आफ्ना कार्यालय खोल्न नपाएर समस्यामा परेका छन् । त्यस्तै भारतीय चलचित्रकी बलिउड नायिका कंगना रनावतले भने यस्तो अवस्थामा पनि नयाँ कार्यालय खोलेकी छन् ।
नायिका कंगनाले भर्खरै मुम्बईको पाली हिलमा आफ्नो प्रोडक्सन हाउस खोलेकी हुन् । उनले त्यस कार्यालयबाट फिल्म निर्माणसमेत गर्ने भएको जनाइएको छ । प्रोडक्सन हाउसलाई कंगनाले अफिस कम र स्टुडियो बढी बनाएकी छन् ।
उनले नयाँ प्रोडक्सन हाउसका केही तस्बिर सामाजिक सञ्जालमार्फत सेयरसमेत गरेकी छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ । कंगनाको मुख्य अभिनय रहेको फिल्म ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ सन् २०१९ मा रिलिज भएको थियो ।
उनले यो फिल्मबाट प्रेरित भएर कार्यालयको नाम मणिकर्णिका फिल्मस् राखेकी हुन् । कंगनाको यो कार्यालय सेलिब्रेटी डिजाइनर शवनम गुप्ताले तयार पारेकी छन् ।