टेलिभिजन अभिनेत्री मोहना कुमारी सिंहलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मोहनाले ‘ये रिश्ता क्या कहलाता हे’ जस्ता कार्यक्रममा काम गरिसकेकी छिन् । उनका श्रीमान् सुयश रावत, ससुरा तथा क्याबिनेट मन्त्री सतपाल महाराज, सासु अमृता रावत, जेठानी आराध्या र उनका पाँच वर्षका छोरा पनि कोरोनाबाट संक्रमित छन् ।
मोहनाको घरमा काम गर्ने अन्य १७ कर्मचारीमा कोभिड–१९ परीक्षण पोजेटिभ आएको छ । सबै ऋषिकेशस्थित एम्स अस्पतालमा भर्ना भएका छन् ।
मोहनाले समाजिक सञ्जालमा आफ्नो पीडा शेयर गरेकी छिन्, ‘सुत्न सकिरहेकी छैन । यो सुरुवाती दिन हामी सबैका लागि निकै कष्टकर छ । विशेषगरी हाम्रा बच्चा र वृद्ध–वृद्धाका लागि । तर यो सबै छिट्टै समाप्त होस् भनेर म प्रार्थना गरिरहेकी छु । हामी ठिक छौं ।’
उनले लेखेकी छिन्, ‘हामीसँग कसैसँग पनि असन्तुष्टि पोख्ने अधिकार छैन । किनभने यहाँ यस्ता थुप्रै मानिसहरु छन् जसले हामीभन्दा कति गुणा बढी सहनु परेको छ । तर म तपाईँमध्ये हरेकको सन्देश, प्रार्थना र तपाईंले पठाउनुभएको प्रेमका लागि आभारी छु । यसले हामीलाई ऊर्जाशील बनाइराख्छ । हामी सबै तपाईँहरुप्रति मनैदेखि आभारी छौं । तपाईँहरु सबैलाई धन्यवाद ।’
‘मेरो जेठाजुको रिपोर्ट नेगेटिभ आएको छ, तसर्थ उहाँ पूर्ण रुपमा ठिक हुनुहुन्छ । हामीमा मामुली लक्षण देखिएको छ र मलाई लाग्छ कि यो मौसममा भएको परिवर्तनका कारण पनि हुनसक्छ । यहाँ सबैभन्दा राम्रो कुरा त हामीमध्ये कसैमा पनि खासै ठूलो समस्या देखिएको छैन ।’ उनले भनिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार, शनिबार मोहनाकी सासु अमृता रावतको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि स्वास्थ्य विभागले घरमा भएको सबैको परीक्षण गरेको थियो ।
परिवारका सदस्य र सहयोगीको गरी जम्मा ४१ जनाको नमुना परीक्षण गरिएको थियो जसमध्ये २२ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।