जगद्गुरु रामानन्दाचार्य सेवा पीठले श्रीरामचरितमानसको संगीतमय पारायणसहित श्रीरामचन्द्र भगवानको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व भव्य रुपमा मनाएका छन् ।
देश विदेशमा रहेका जगद्गुरु रामानन्दाचार्य सेवापीठमा अनुष्ठान विशेष पूजासहित शुरु भएको रामचरित्र मानस नवाह पारायणको अन्तिमदिन सहभागी भक्तजनहरुले विशेष पूजा, ध्यान साधना कीर्तन सहित रामनवमी’ पर्व मनाएका हुन् ।
उक्त कार्यक्रम नवरात्र चैत ३१ देखि बैशाख ८ सम्म चलेको थियो । यस पटक भने हाल विश्वलाई परिरहेको संकट, महामारी मात्र नभई भविष्यमा आईपर्ने संकटले ल्याउने क्षति न्यूनिकरणको लागि श्रीरामचरितमानसको संगीतमय नवाहपारायण अनुष्ठानको आयोजन गरिएको जगद्गुरु रामानन्दाचार्य सेवा पीठका शिवराज पौडेलले बताए ।
गत वर्ष लकडाउनका कारण घर घरमा नवाह पारायण पूजा गरेका भक्तजनहरु भने यस पटक सामाजिक दूरी, सरकारले तोकेको स्वस्थ्य मापदण्ड अनुरुप नै पीठमा भेला भएका थिए । विभिन्न पीठले सदगुरूदेवको अनुकम्पा र कृपाले प्राप्त निर्देशन बमोजिम निष्ठा, विधि र भक्तिपूर्वक यस कार्यक्रम मनाउँदै आईरहेको छ ।
असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ। त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको मान्यता छ।
रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।