सत्तारुढ दल नकपा (एमाले)ले बल्खुस्थित पुरानो पार्टी केन्द्रीय कार्यालय रहेको ठाउँमा नयाँ भवन बनाउन नसक्दा भाडाकै घर चहार्दै हिँड्नुपरेको छ । २०७२ को भूकम्पपछि क्षति भएको बल्खुस्थित पुरानो पार्टी कार्यालयको भवन रहेको ठाउँमा अर्को भवन नबनाउन नसक्दा व्यापारीको घरमा पार्टी कार्यालय सार्ने तयारी छ ।
६ वर्षसम्म एमालेले भवन बनाउन त परेको कुरा भवन शिलान्यास समेत गर्न सकेको छैन । प्रधानमन्त्री निवास बालुवाटारमा केही दिनअघि बसेको १२औँ केन्द्रीय कमिटी बैठकले शिलान्यास गर्ने निर्णय गरेको छ ।
हतार–हतार गरेरै भए पनि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस आगामी वैशाख ९ गतेका दिन बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने तयारी थालिएको छ । शिलान्यासको तयारीको जिम्मेवारी प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिइएको छ ।
एमालेका कार्यालय सचिव ईश्वरी रिजालले भने ‘पार्टीको निर्णय अनुसार पुराना कार्यालयका करिब १३ रोपनी जग्गामा भवन शिलान्यासको तयारी हुँदै छ ।’
बल्खुको पुरानो कार्यालय भवन २०५३ मा निर्माण गरिएको थियो । २०७२ साल वैशाख १२ र २९ गतेको भूकम्पका कारण सो भवनमा क्षति पुग्यो । भूकम्पबाट क्षति पुगेपछि एमाले मुख्यालय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनमा २०७२ साल साउन २३ गते सर्याे ।
भूकम्पले क्षति पुर्याएको बल्खुस्थित पुरानो कार्यालय स्थानीय ठेकेदार रामबहादुर श्रेष्ठले बोलकबोलमार्फत ३१ लाख रुपैयाँमा भत्काउने जिम्मा पाएका थिए ।
सो ठाउँमा भवन बन्ने समय अनिश्चित भएपछि धुमबाराहीबाट समेत पार्टी कार्यालय सारिँदैछ । थापाथली हाइटस्थित उमङ्ग मार्गमा रहेको १३ कोठे घरमा कार्यालय सार्न लागिएपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले निरीक्षणपछि अनुमति दिएकाले बुधबारै दुई पक्षबीच भाडा सम्झौता गर्ने तयारी छ । उक्त घर प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार मोती दुगडका आफन्तको भएको बुझिएको छ ।