संसारभरि नोभल करोनाभाइरसको त्रास दिनहुँ बढ्दो छ । यसमा यो रोगको सङ्क्रमण र उपचारका बारे फैलाइएको भ्रमले पनि निकै काम गरेको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का अनुसार विश्वभर कोरोना भाइरस झैँ फैलँदै गएको गलत सूचनाका कारण मानिसहरू यो रोगसँग चाहिनेभन्दा बढी त्रसित भएका छन् । यो रोगका बारे गलत सूचना प्रवाह नगर्न पनि डब्ल्युएचओले आग्रह गरेको छ ।
यो रोगका बारे आम मानिस तथा सामाजिक सञ्जाल मात्र नभएर सञ्चार माध्यम पनि सही सूचना प्रवाह गर्न असफल भइरहेका छन् । यस्ता अफवाहलाई सङ्क्रमण झैँ फैलाउन सामाजिक सञ्जाल झनै बलियो माध्यम बनेको छ । सही सूचनाको अभावमा यो रोगसँग लड्न पनि कठिन भइरहेको डब्ल्युएचओको भनाइ छ । कतिपय मुलुकमा यो रोगका बारेमा समाचार प्रकाशन मै रोक लगाइएको छ । जसले गर्दा नागरिक सामु सामाजिक सञ्जालको मार्फत गलत सूचनाहरू मात्र पुगिरहेका छन् ।
कतिपय मानिस यो भाइरस मानिसबाट सिर्जित भन्न पनि पछि परेका छैनन् । चीन विरोधी एक समूहले एक चिनियाँ प्रयोगशालामा परमाणु हतियारको गोप्य अध्ययन र उत्पादन भइरहेको तथा त्यहीबाट यो भाइरस फैलिएको भ्रम छरिएको छ । त्यो अफवाह सामाजिक सञ्जालमा भाइरल नै भयो ।
त्यो अफवाहको बदलामा अमेरिका विरोधी समूहबाट वास्तवमा कोरोना भाइरस अमेरिकाले चीनमा फैलाइएको झूट भाइरल बन्यो । यसै सिजनमा भाइरल इन्फेक्सनका कारण मरेका अमेरिकीहरूमा वास्तवमा कोभिड–१९ को सङ्क्रमण रहेको गलत सूचना सामाजिक सञ्जालमा फैलाइयो ।
यो गलत समाचारलाई अमेरिकी र चीन दुवै मुलुकका वैज्ञानिकहरूले खण्डन गरी सकेका छन् । यद्यपि विज्ञहरू अहिले पनि यो भाइरस कसरी मानिसमा सर्यो भनेर अध्ययन गर्दै छन् । जसमा सबैभन्दा बढी सम्भावना चमेरोबाट मानिसमा सरेको हुनसक्ने बताइएको छ ।
यस्तै यो रोगबाट बच्न अत्याधिकरुपमा लसुन खाँदा राम्रो हुने भ्रम पनि छरिँदै छ । यस्तै भिटामिन ‘सी’ का स्रोतयुक्त खानाले पनि यो रोग नलाग्ने भ्रम फैलाइएको छ । साथै १५–१५ मिनेटमा लसुनका साथ पानी पिउने अनि भिटामिन ‘सी’ युक्त औषधी खान थालियो भने यो रोग नलाग्ने कुरा सामाजिक सञ्जालमा भाइरल बनेको छ । तर, डब्ल्युएचओका अनुसार उपचारका ती पद्धति पनि अफवाह सिवाय केही होइन ।
यस्तै सामाजिक सञ्जाल मै तिलको तेल दलेर शरीरमा अल्कोहल वा कोरिन छर्केको खण्डमा पनि कोरोना भाइरसको सङ्क्रमण नहुने दाबी गरिएको छ । तर, त्यो पनि गलत प्रचार हो ।
ब्लिच, ७५ प्रतिशत इथानोल, पेरासेटिक एसिड तथा क्लोरोफर्म जस्ता केमिकलले कीटाणु मार्न सहयोग गर्छ । तर, ती केमिकलहरू सतहमा रहेका भाइरसलाई मात्र मार्न सक्छन् । छालाबाट शरीरमा प्रवेश गर्ने भाइरसबाट यस्ता केमिकलले जोगाउन त सक्ला तर, नाक र मुखको माध्यमबाट शरीरमा प्रवेश गर्ने भाइरसबाट जोगाउन सक्दैन । साथै यस्ता केमिकललाई छालामा प्रयोग गर्नु अत्यन्त हानिकारक हुन सक्छ ।
वास्तवमा भन्ने हो भने कोरोना भाइरससँग कसरी बच्ने भनेर विज्ञहरूलाई थाहा छैन । यो रोगका बारे अहिले पनि अनेकौँ परीक्षण र अध्ययन भइरहेका छन् ।
यो रोगबाट बच्ने अहिलेसम्मको सजिलो उपाय भनेको जाडो मौसममा चिसोबाट बच्न हामी जे गर्छौँ, त्यस्तै गर्नु उचित हो । कोही सङ्क्रमित छ भने त्यस्तो व्यक्तिसँग घटीमा ३ फिटको दुरीमा बस्दा उचित हुन्छ । समय समयमा साबुन पानीले हात धुनु पर्छ, त्यो पनि घटीमा २० सेकेन्ड हात मिचेर । हाच्छिउँ गर्दा वा खोक्दा नाक मुखलाई राम्रोसँग कपडाले छोप्ने गर्नु पर्छ । कपडा उपलब्ध नभएको खण्डमा आफ्ना हातले भने पनि नाक मुख छोप्नु पर्छ । साथै साधारण चिसोले भन्दा बढी सताए झैँ लागेको खण्डमा उचित उपचार गराइ हाल्न डब्ल्युएचओले आग्रह गरेको छ ।
डब्ल्युएचओ कै अनुसार मुखमा मास्क लगाएको खण्डमा यो रोगको सङ्क्रमणले सताउँदैन भन्ने धारणा पनि गलत हो । अमेरिकी सर्जन डा. जेरोम एडम्सका अनुसार सही तरिकाले मास्क नलगाएको खण्डमा यो रोग सङ्क्रमणको खतरा झनै बढ्ने छ ।
उनका अनुसार कोरोना भाइरसबाट हालसालै सङ्क्रमित भएका तथा लक्षण देखिएकाहरूका लागि मात्र उपयुक्त हुन्छ । साथै मास्कको आवश्यकता स्वास्थ्यकर्मी र बिरामीको रेखदेख गर्नेलाई पनि पर्छ ।
डब्ल्युएचओको दाबी अनुसार मास्कको अत्यधिक खपत गर्नु भनेको कालो बजारीलाई बढावा दिनु तथा मूल्य वृद्धि गराउनु मात्र हो । यसले मास्कको आवश्यकता रहेकाहरूले यसको अभावको सामना गर्नु पर्नेछ ।
एजेन्सीको सहयोगमा