मंसिर ०७, २०८१, शुक्रबार
               

जेनिफरलाई दिइयो कोरोनाविरुद्धको पहिलो खोप

नेपाल फ्ल्यास
चैत ०४, २०७६

ADVERTISEMENT

काठमाडौं ।  कोरोना (कोभिड–१९) भाइरसबाट मानिसलाई बचाउन विकास गरिएको परीक्षण खोप पहिलो पटक जेनिफर हालेरलाई लगाइएको छ ।

अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) शुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले बताएका छन् ।

अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल शहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा  जेनिफर हालेरसँगै चार जनालाई परीक्षण खोप लगाइएको समाचार एजेन्सी एशोसिएटेड प्रेसले उल्लेख गरेको छ । जसअन्तर्गत सबभन्दा पहिले दुई सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खोप दिइएको समाचार संस्था एपीले जनाएको छ ।

खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो ।’ एमआरएनए–१२७३ नाम दिइएको यो खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन् । 

दादुरा जस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भाइरसबाट बनाउने गरिन्थ्यो । तर एमआरएनए खोप भने कोभिड–१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बनाएको बताएका छन् । तर खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने अनुसन्धानकर्ताले बताएका छन् ।

परीक्षण खोप लगाउन स्वस्फूर्त रूपमा ४५ जना तयार भएको अमेरिकाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको हो ।


कस्तो लाग्यो ?

यो पनि