मंसिर ०७, २०८१, शुक्रबार
               

सुमार्गी ग्रुपले क्वारेन्टाइनका लागि दियो स्कुल

नेपाल फ्ल्यास
चैत १०, २०७६

फोटो साभार : थाहाखबर
ADVERTISEMENT

हेटौँडा । कोरोना भाइरसको सम्भावित सङ्क्रमितलाई क्वारेन्टाइनमा राख्ने स्थल उपलब्ध गराउन धेरैतिर आनाकानी भइरहँदा व्यवसायी सुमार्गी ग्रुपले हेटौँडास्थित आफ्नो विद्यालय भवन सरकारलाई उपलब्ध गराएको छ ।

व्यवसायी अजेयराज सुमार्गीको व्यावसायिक घरानाले आफ्नो स्वामित्वको हेटौँडा एकेडेमी क्वारेन्टाइनका लागि उपलब्ध गराएको हो । त्यहाँ दुई सयजनालाई राख्न सकिने छ ।

त्यसका लागि प्रदेश विपद् व्यवस्थापन समितिले क्वारेन्टाइन कक्षहरूको अनुगमन गरिसकेको छ । विद्यालयकै अगुवाइमा चुरे हिल अस्पतालसँगको सहकार्यमा हेल्थ डेस्क तयार पार्न लागिएको छ । हेल्थ डेस्कले कोरोनाको लक्षणबारे परीक्षणा गर्ने छ । 

विद्यालयका सञ्चालक अरुणराज सुमार्गीले कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आफूहरूले राज्यलाई सहयोग पुर्‍याएको बताए । उनले भने- 'हामीसँग कोरोनाले महामारी लिएमा लड्न सक्ने क्षमता सीमित छ । त्यसैले संक्रमण फैलिन नदिननै ध्यान दिनुपर्छ । त्यसका लागि क्वारेन्टाइन महत्त्वपूर्ण छ ।' 

विद्यालयले भवनका कोठालाई क्वारेन्टाइनका लागि उपयुक्त र मापदण्डअनुसार बनाइसकेको छ ।

बागमती प्रदेशले हेटौँडामा अझै तीन सयवटा यस्तो कक्ष बनाउने काम थालेको छ। वन विज्ञान अध्ययन संस्थानमा एक सय, गौरीटार खेलकुद एकेडेमीमा एक सय र सशस्त्र प्रहरी क्याम्प कर्रामा एक सय शय्याको क्वारेन्टाइन बनाउन लागिएको हो । 

सुमार्गी ग्रुपले सामाजिक सेवामा क्षेत्रमा पहिलेदेखि नै योगदान पुर्‍याउँदै आएको थियो । सुमार्गी ग्रुपले पशुपति क्षेत्रमा माधवराज सुमार्गी स्मृति भवन बनाएर पशुपति विकास कोषलाई २०७१ सालमा पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको थियो । भूकम्पमा उद्धार तथा राहत एवं भूकम्पपीडितका लागि आवाससमेत यो ग्रुपले बनाएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि