एजेन्सी । विश्वभर कोरोना सङ्क्रमण फैलिरहँदा डायमन्ड प्रिन्सेसको नाम पनि चर्चामा आएको छ ।
विश्व स्वास्थ्य सङ्गठन तथा अन्य एजेन्सीहरूको सूचीमा डायमन्ड प्रिन्सेसको नाम पनि सङ्क्रमित मुलुकसँगै राखिएको छ । त्यसपछि यो आमतवरमा चासोको विषय बनेको हो ।
यो अत्याधुनिक र ठूलो क्षमताको एउटा पानीजहाज हो । यसमा रहेका मानिसहरू सङ्क्रमित भएका हुन् । सङ्क्रमित राष्ट्रहरूको १९८ वटा सूचीमा यो (सङ्क्रमणका आधारमा) ३७औँ स्थानमा छ ।
जहाजमा रहेका ७ सय १२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ भने पाँच सय ८७ जना उपचारपछि ठिक भएका छन् । एक सय १५ जनाको उपचार जारी छ ।
यो जहाज कर्निभल कर्पोरेसन एन्ड पिएलसीले सञ्चालनमा ल्याएको हो । यो जहाज बेलायतमा निर्माण भएको हो ।
एकैपटक २६ सय ७० जना बोक्ने क्षमताको डायमन्ड प्रिन्सेसमा ११ सय जना त क्रु नै छन् । पाँच सय मिलियन अमेरिकी डलर लागतमा यसको निर्माण मित्सुबिसी हेभी इन्ड्रस्ट्रिजले बनाएको हो ।
सन् २००४ को मार्चदेखि सेवा सुरु गरेको डायमन्ड प्रिन्सेसको लम्बाइ नौ सय ५२ फिट र उचाइ दुई सय ५ फिट छ ।
यात्री तथा चालक दलका सदस्यसहित डायमन्ड प्रिन्सेस क्रूज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाइनमा राखिएको छ ।
पानीजहाजबाट हङकङ झरेका एक व्यक्तिमा कोरोना सङ्क्रमण पाइएपछि सो पानीजहाजलाई क्वारेन्टाइनमा राखिएको हो ।
सङ्क्रमणको सुरुवातका महिनामा चीनपछि सबैभन्दा बढी सङ्क्रमित हुने यो सबैभन्दा ठूलो समूह थियो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस सङ्क्रमण अरु देशमा पुग्ने एउटा कारण यही डायमन्ड प्रिन्सेसलाई मानिएको छ ।