सम्पूर्ण विश्व कोरोना भाइरससँग सङ्घर्ष गरिरहेको छ। प्रायः सबै देशहरू यस सङ्कटको सामना गरिरहेका छन् । नेपाल, दक्षिणको छिमेकी भारत र दक्षिण एसियालगायतमा पनि यो संक्रमण फैलँदै गएको छ ।
यो महामारीले विश्वका केही चर्चित र अग्रणी व्यक्तित्वहरूमा पनि परेका छन् । महामारीले के सम्पन्न के विपन्न, कसैलाई छोडेको छैन । यी हुन् विश्वमा चर्चित अनुहार जसले कोरोना भाइरसको संक्रमण झेलिरहेका छन् ।
राजकुमार चार्ल्स
बेलायतका राजकुमार चार्ल्स यस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ७१ वर्षीय राजकुमार पत्नी क्यामिलाका साथ सेल्फ आइसोलेनमा रहेको क्लारेन्स हाउसले पुष्टि गरेको छ ।
डचेज अफ कर्नवलको कोरोना परीक्षणको नतिजा सकारात्मक देखिएको तथा उनमा सामान्य सङ्क्रमण देखिएको बताइएको छ । बेलायतले मुलुकभरि लक डाउनको आदेश दिएको भोलिपल्टै हिजो बुधबार यो समाचार आएको हो ।
कोरोना भाइरसको महामारीबीच बेलायतमा यो रोगबाट मर्नेहरू सङ्ख्या ४ सय ६५ पुगिसकेको छ । एक जना पूर्वगोर्खा सैनिक पनि सङ्क्रमणबाट मरेका छन् । नौ हजार पाँच सय २९ जनामा संक्रमण फैलिएको पुष्टि भएको छ । एक सय ३५ जना उपचारपछि ठीक भएका छन् । कोरोनाको सङ्क्रमणबाट ग्रस्त ज्येष्ठ नागरिकहरू बढी मर्ने गरेका छन् ।
सोफी ट्रूडो
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्डुकी पत्नी सोफीलाई कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ । कोरोनाको आशङ्कामा जस्टिन पत्नीसहित सेल्फ आइसोलेसनमा बसेका छन् । एक कार्यक्रममा सहभागी भएर फर्कँदा हल्का ज्वरो आएपछि सोफीको स्वास्थ्य परीक्षण गरिएको थियो । अहिले उनीहरूका बच्चाहरूलाई अलग्गै राखिएको छ ।
र्यान्ड पल
कोरोना भाइरसविरुद्ध लड्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन उदासीन बनेको आरोप लागिरहँदा अमेरिकी सिनेटर र्यान्ड पललाई पनि कोरोना भाइरसको संक्रमण भएको छ । अमेरिकाको अखबार टाइमले सिनेटर पललाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
पलले पछिल्लो समयमा धेरै यात्रा तथा कार्यक्रमहरूमा भाग लिएका थिए । अहिले उनी क्वारेन्टाइनमा छन् । उनी कोरोना सङ्क्रमित पहिलो हाइप्रोफाइल अमेरिकी हुन् ।
डेनियल डे किम
अभिनेता डेनियल डे किम पनि कोरोना सङ्क्रमणको सामना गरिरहेका छन् । उनले सोसल मिडियामार्फत सङ्क्रमित भएको विवरण सार्वजनिक गरेका थिए ।
उनी अमेरिकी कलाकार तथा निर्माता हुन् । ५१ वर्षीय डेनियल सङ्क्रमित भएपछि उनका फिल्मको सुटिङहरू प्रभावित भएका छन् ।
राजकुमार अल्बर्ट द्वितीय
मोनाकोका प्रिन्स अल्बर्ट द्वितीय कोरोनाबाट सङ्क्रमित भएका छन् । उनले केही समयअघि बेलायतका राजकुमार चार्ल्ससँग भेटघाट गरेका थिए । तर त्यही कारणले कोरोना संक्रमण भएको हो कि होइन भन्ने खुलेको छैन ।
फ्रान्सिस स्वेरेज
अमेरिकाको मायमीका मेयर फ्रान्सिस स्वेरेज पनि भाइरसबाट सङ्क्रमित भएका छन् । उनले आफैँले यसबारे जानकारी गराएका हुन् । उनी ब्राजिलका राष्ट्रपतिको विशेष सहयोगीको सम्पर्कमा आएको र त्यसपछि उनीमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।
यसै गरी भारतीय गायिका कनिका कपुर पनि सङ्क्रमित छिन् । सङ्क्रमित भएपछि लापरबाही गरेको भन्दै उनको धेरै आलोचना भएको थियो ।
विश्वभर चार लाख ७१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भएको छ । यसबाट २१ हजार दुई सय ९७ जनाको मृत्यु भएको छ । करिब एक लाख १५ हजार मानिस उपचारपछि ठीक भएका छन् ।
नेपालमा तीन जना सङ्क्रमितमध्ये एक जना निको भइसकेका छन् । उत्तरी छिमेकी चीनमा यो संक्रमण नियन्त्रणनजिक पुगेको छ भने भारतमा संक्रमण बढ्दै गएको छ । भारतमा ६७३ जनामा संक्रमण देखिएको छ भने १३ जनाको मृत्यु भइसकेको छ । सार्क राष्ट्रहरूमा ८ जनाको मृत्यु भएको पाकिस्तानमा सबैभन्दा बढी ११ सयभन्दा बढी भाइरस सङ्क्रमित पुष्टि भइसकेको छ ।