काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस चीनको प्रयोगशालाबाट फैलाइएको आरोप लगाएका छन् ।
कोरोनाको संक्रमण अमेरिकामा तीब्र रुपमा फैलिरहेको बेला बिहीवार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस्तो आरोप लगाएका हुन् ।
पत्रकारको प्रश्नमा उनले कोभिड १९ चिनियाँ प्रयोगशालाबाटै फैलिएको प्रमाण आफूसँग रहेको दाबीसमेत गरेका छन् । अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेकोबेला राष्ट्रपति ट्रम्पले चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट भाइरस फैलिएको दाबी गरेका हुन् । उनले कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको बताएका छन् ।
ट्रम्पले चीनको प्रचारप्रसार गरिरहेको भन्दै त्यसप्रति विश्व स्वास्थ्य सङ्गठनलाई लाजलाग्नु पर्ने बताए । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको संस्थाको रुपमा काम गरिरहेको आरोप पनि उनले लगाए ।
चीनले जानीबुझी वा भुलवश यस्तो गल्ती गरेको भन्ने थाहा नभएको भन्दै ट्रम्पले भने- 'मानिसहरुलाई हुबेई प्रान्तदेखि चीनकै बाहिरी भूभागमा जान नदिने तर सिंगो विश्वमा जहाँकही जाने अनुमति दिएको थियो । जुन निकै गलत भयो । यस्तो किन भयो ? यो निकै कठिन प्रश्नको जवाफ पाउन बाँकी छ ।'
कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३३ लाखभन्दा बढी संक्रमित भइसकेका छन् भने २ लाख ३४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामामात्रै सबैभन्दा बढी ६३ हजार ८६१ जनाको ज्यान गएको छ भने १० लाख ९५ हजार २१० जनामा संक्रमण पुष्टि भइसकेको छ ।
ट्रम्प लगातार भाइरसको उत्पत्ति मुलुक चीनविरुद्ध आक्रामक बन्दैआएका छन् ।