काठमाडौं । निको भएर फर्किएका ३ जनामा कोरोना भाइरसको संक्रमण दोहाेरिएकाे छ । रौतहटका एक युवक र भारतीय जमातीमा पुनः कोरोना संक्रमण देखिएको स्राेतले जनाएकाे छ ।
वीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन जना जमाती र रौतहटका युवकमा गत वैशाख १ गते संक्रमण पुष्टि भएको थियो ।
नारायणी अस्पतालमा दुई साता लामो उपचारपछि उनीहरुलाई गत १४ गते डिस्चार्ज गरिएको थियो । उनीहरूमध्ये २ जनामा कोरोनाकाे पुनः संक्रमण देखिएकाे हाे ।
त्यस्तै काठमाडौंकाे पेप्सिकोलास्थित सिनसिटी अपार्टमेन्टका ५२ वर्षका पुरुषमा कोरोना दोहोरिएकाे छ । गत चैत गते बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।
तर एक सातापछि पुनः परीक्षणका लागि अस्पताल आएका ५२ वर्षका पुरुषको रिपोर्ट पोजेटिभ आएको स्रोतले बताएको छ । तर उनीहरूकाे संक्रमण स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी छ ।