काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या थपिँदै गएको छ । आज बुधबार एकै दिन १७ जना संक्रमित थपिएका छन् ।
पर्सामा एकैदिन १७ जना संक्रमित थपिएका हुन् । उनीहरूको नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । उनीहरूको स्वाब परीक्षण वीरगन्जमा गरिएको थियो ।
थपिएका संक्रमितमध्ये २ महिनादेखि ६६ वर्षभित्रका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । थपिएकामध्ये ७ महिला र १० पुरुष छन् ।
योसँगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको छ । त्यसमध्ये ७१ जना पुरुष र २८ जना महिला छन् ।
प्रदेशको आधारमा अहिलेसम्म कर्णाली प्रदेश संक्रमणमुक्त छ । सबैभन्दा बढी प्रदेश १ मा ३१ जना संक्रमित छन् । त्यस्तै प्रदेश २ मा ३० जना पुगेको छ भने हालसम्म प्रदेश ५ मा २४ जना, बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ जना र गण्डकी प्रदेशमा २ मा संक्रमण देखिएको छ ।
उपचारपछि निको भएका भनिएका तीन जनामा पुन: संक्रमण देखिएको छ । मन्त्रालयले यसबारे जानकारी गराए पनि अझै केही परीक्षणपछि संक्रमण दोहोरिएको वा अन्य कारणले के हो भन्नेबारे स्पष्ट पारिने प्रवक्ता देवकोटाले बताएका छन् ।
बैशाख ११ गते गते डिस्चार्ज भएका काठमाडौंको सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुषको नमुना परीक्षण गर्दा पुन: पोजेटिभ देखिएको हो । उनको पाटन अस्पताल उपचार भइरहेको छ ।
त्यस्तै बैखाश १४ गते डिस्चार्ज भएका बाराका १९ वर्षीय र पर्साका ४४ वर्षीय पुरुषमा पनि पुन: संक्रमण देखिएको हो । उनीहरूको नारायणी क्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि प्रवक्ता देवकोटाले दिएका छन् ।
हेर्नुस् स्वास्थ्य प्रवक्ताले दिएको जानकारी: