काठमाडौं । नेपालमा मंगलबार पुन: २७ जना काेराेना संक्रमित थप भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले नियमित पत्रकार सम्मेलनमा दिएकाे जानकारी अनुसार २७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । मंगलबार २४ पुरुष र ३ जना महिला गरी २७ जनामा काेराेना संक्रमित थप भएका हुन् ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४०२ पुगेकाे स्वास्थ्यले जनाएकाे छ । संक्रमितमध्ये ३४० जना पुरुष र ६२ जना महिला छन् । साथै निकाे भएर घर फर्किनेकाे संख्या ३७ पुगेकाे छ । झापाका एक जना पुरुष निकाे भएर घर फर्केका हुन् । संक्रमितहरूको औसत अस्पताल बसाइ १९ दिन रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज मंगलबार झापामात्रै थपिए ९ जना संक्रमित थपिएका हुन् । आज झापाबाहेक कपिलवस्तुमा ४, काठमाडौंमा ३ र सर्लाहीमा २ जना संक्रमित पाइएको हो । त्यस्तै मोरङ, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर सिन्धुली लमजुङ र नवलपरासीमा पनि एक/एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरू सबै १७ देखि ४२ वर्ष उमेरका छन् ।
अहिलेसम्म ३६ वटा जिल्लामा संक्रमण फैलिएको छ । तराईमा एक मात्र संक्रमण नभेटिएको जिल्ला सुनसरीमा पनि हिजै संक्रमण भेटिए पनि आज मंगलबार मात्रै स्वास्थ्य मन्त्रालयले आधिकारिक जानकारी दिएको हो । ललितपुर, रामेछाप, सिन्धुली र लम्जुङमा पहिलोपटक संक्रमण देखिएको हो ।
प्रदेश १ मा ५४ जना, प्रदेश २ मा १३६ र बागमतीमा २७ जना संक्रमित पुगेका छन् । त्यस्तै गण्डकीमा ४, प्रदेश ५ मा १७६, कर्णाली १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित पुष्टि भइसकेका छन् ।
नेपालमा पीसीआर विधिबाट हालसम्म ३२ हजार ६०४ वटा परीक्षण भएको छ भने आरडीपी विधिबाट कुल परीक्षण ७४ हजार ६४९ पुगेको छ । नेपालभरमा क्वारेनटाइमा २१ हजार ६२३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।