काठमाडौं । गोकर्णेश्वर नगर वडा नं ४ किसिगालमा एकजना पुरुषमा कोरोना संक्रमण प्रमाणित भएपछि त्यस क्षेत्रलाई सिल गरी ट्रेसिङ गर्न लागिएको छ ।
अर्थ मन्त्रालयअन्तर्गत भैरहवा भन्सार कार्यालयमा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय संक्रमित वैशाख २५ गते आफैँ गाडी चलाएर भैरहवाबाट काठमाडौं आएको जानकारी प्राप्त भएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानले बताए ।
मङ्गलबार राति प्राप्त पिसिआरको प्रतिवेदनमा उनलाई संक्रमणको पुष्टि भएको थियो ।
संक्रमितको सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न किसिगाल क्षेत्रलाई सिल गरिएको नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रमा पहिलोपटक कोरोना संक्रमण प्रमाणित भएको हो ।
नगर स्वास्थ्य समितिको आजै बैठक बसी संक्रमितको परिवारका सदस्यलाई पिसिआर परीक्षण गर्ने तयारी भएको नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए ।
संक्रमितको सम्पर्कमा आएका परिवार बाहिरकाको भने आरडिटी परीक्षण गरिने जनाइएको छ ।
नगरपालिकामा संक्रमण फेला परेसँगै यो क्षेत्र सुनसान बनेको छ । कोरोना सर्ने त्रासले मानिस बाहिर निस्किएका छैनन् ।
नगरपालिकाका सबै वडाले विज्ञप्ति प्रकाशित गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आह्वान गरेका छन् ।