काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर प्रविधिबाट कोभिड–१९ को परीक्षण सुरु भएको छ ।
अस्पतालमा सोमबारदेखि सो सेवा सुरु भएको हो ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पीसीआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड–१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहाकार डा खेम कार्कीले कोभिड–१९ को परीक्षणको दायरा बढाउन लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताए ।
योसँगै अहिलेसम्म कोभिड–१९ परीक्षण गर्नका लागि २० वटा पीसीआर प्रयोगशाला सञ्चालनमा रहेका छन् ।
काठमाडौं उपत्यकामा भने पाँचवटा पीसीआरल्याब सञ्चालन भएका छन् ।
त्रिविमा रहेको बाइयोटेक्नोलोजी विभाग रहेको उक्त प्रयोगशाला अस्पतालले सञ्चालन गरेको हो ।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा कार्कीका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई, वीर अस्पतालमा एक, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा एक र शिक्षण अस्पतालमा एक जरी पाँच ठाउँमा पीसीआर सञ्चालन गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले एक पटकमा ९६ जनाको परीक्षण गर्न सकिने जानकारी दिए ।
परीक्षण गरिएको ६ देखि आठ घन्टामा रिपोर्ट आउनेछ । कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. रुना झाले परीक्षण गराउनेको संख्या बढिरहेकाले अस्पतालमा सञ्चालन भएको प्रयोगशालाले सम्भावित संमितको परीक्षण गर्न सहयोग पुग्ने बताइन् ।
उनले आफूले प्रयोगशाला सञ्चालनका लागि आवश्यक सहयोग गर्नेसमेत बताइन् ।
अहिलेसम्म पीसीआरबाट ४८ हजार आठ सय १५ र आरडीटीबाट ९० हजार २६ जनाको परीक्षण गरिएको छ ।