काठमाडौं । टेकु जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मापदण्डको मान्यता प्राप्त गरेको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर संगठन (आइएसओ)ले प्रयोगशालालाई सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो ।
नेपालस्थित सङ्गठनका प्रतिनिधि डा सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई मंगलबार आइएसओ प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
यसअघि अन्तर्राष्ट्रिय मापदण्ड मान्यता चार निजी क्षेत्रका प्रयोगशाला रहेका छन् ।
प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताइन् ।
उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिक रुपमा एक वर्षअघिदेखि काम गरिएको उनले बताइन् ।
झाले भनिन्, ‘अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा गुणस्तरीय, विश्वसनीय बढेको छ,’ उनले भनिन्, ‘अब हामीले कुनै पनि नमुना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।’
साथै, उनले प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाएको बताइन् ।
झाले साउनदेखिको प्रयासका कारण आइएसओको विज्ञ टोली आइ प्रयोगशालाबारे अध्ययन गरेको उनले बताइन् ।
उनले भनिन् ‘त्यही विज्ञ टोलीको गरेको सिफारिसका आधारमा हामीले मान्यता पाएका हौँ ।’
तर, झाले अन्तर्राष्ट्रि मापदण्ड पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेको बताइन् ।
त्यस्तै, जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताएका छन् ।
उनले पहिले दैनिक सयमात्र गरिने कोभिड–१९ को परीक्षणलाई हजारको संख्यामा प्रयोगशालाले पुर्याएको बताए ।