मंसिर ०७, २०८१, शुक्रबार
               

स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवन बस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस संक्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब संकलन भइरहेको छ ।

‘संकलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौँ’, उनले भने, ‘नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।’ सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।  

तीन प्रहरीमा कारोना संक्रमण
कञ्चनपुरमा तीन प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना संत्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । उनका अनुसार संक्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ ।

सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना संक्रमण देखिएको हो । प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टाइन सिल गरिएको छ । क्वारेन्टाइनमा बस्दै आएका संक्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलन भइरहेको छ ।

यो पनि