काठमाडौं । गण्डकी प्रदेशमा फेरि ३७ जनामा कोरोना संक्रमित थपिएका छन् । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको गल्याङ नगरपालिकामा सबैभन्दा धेरै १८ जना संक्रमित भेटिएका छन् ।
यसैगरी वालिङ नगरपालिकामा २ जना र अर्जुनचौपारी गाउँपालिकामा ३ वर्षीय एक जना बालकमा पनि कोरोना पुष्टि भएको छ । स्याङ्जाकै तर स्थानीय तह नखुलेको अर्का एक जना ४ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको डा. शर्माले जानकारी दिए ।