काठमाडौं । गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ४३८ पुगेको छ । चार नम्बर प्रदेशका ७ जिल्लामा शनिबार ५८ जना संक्रमित थपिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको छ । डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या ४३८ पुगेको छ ।
नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् । यस्तै, ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना रहेका छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
नवलपुरकै बौँदीकाली गाउँपालिकाका ४७ वर्षीय पुरुष, विनयत्रिवेणी गाउँपालिका २१ वर्षीय पुरुष र देवचुली नगरपालिकाका १९ वर्षीय पुरुषमा पनि कोरोना भेटिएको छ ।
बाग्लुङको काठेगाखोला गाउँपालिकामा ७ जना पुरुष र एक जना महिला गरी ८ जना नयाँ संक्रमित फेला परेका छन् । उनीहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् ।
स्वास्थ्य निर्देशनालय पोखराले शनिबार बिहान जारी गरेको सूचनाअनुसार गोरखाको भिमसेन नगरपालिकामा ३६, ३३, २२, ३५ र २८ वर्षका पाँच जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीको मादी गाउँपालिका ४१ वर्षीय पुरुष र १९ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।
यसैगरी म्याग्दीको मालिका गाउँपालिकामा ३० वर्षीय पुरुष र स्याङ्जाको पालिका नखुलेको २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।