काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १७ सय जना कोरोनामुक्त भएर घर फर्केका बताएका छन् ।
गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन् ।
‘गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएका छन्,’ उनले भने, ‘यो अहिलेसम्म २४ घण्टाको अवधिमा धेरै निको भएको संख्या हो ।’
योसँगै डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। यसका अलवा अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित भएको बताएका छन् । जुन कुल तथ्यांकको ६१ प्रतिशत हो ।
सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि सोअनुसार डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या बढेको हो ।
क्वारेन्टिनमा बस्नेको संख्या भने २३ हजार ४ सय ७० छ।पछिल्लो समय क्वारेन्टिनमा बस्ने व्यक्तिको संख्या घटेकाले परीक्षण संख्या पनि घटेको छ ।