रुपन्देही । बुटवलमा होम क्वारेन्टाइनमा बसिरहेका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिका वडा १३ स्थित आफ्नै घरमा बसेका एक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगगै बुटवल उपमहानगरमा कोरोना संक्रमितको संख्या २० पुगेको छ ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहका अनुसार ती पुरुष भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै दुई साताअघि नेपाल आएर आफ्नै घरमा क्वारेन्टाइनमा बसेका थिए।
कोरोना पोजेटिभ देखिएपछि उनलाई बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसनमा राखिएको छ । उनमा कुनै लक्षण भने नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको सिंहले बताए ।
उनीसँग सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङ र केस स्टडीको काम आजबाट दुई टोली बनाएर गर्ने उनले बताए । संक्रमितको परिवारका सदस्यहरु होम क्वारेन्टाइनमै बसेका छन् ।
यसअघि बुटवलको पुरानो बसपार्क स्थित पुर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीय कामदारको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर उक्त होटलमा बसेका थिए । पूर्वाञ्चल होटललाई शिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टिनमा पठाइएको छ ।