लमजुङमा एक सञ्चारकर्मीसहित दुई जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
बेसीशहर नगरपालिका–८ बस्ने २७ वर्षीय पुरुष र मर्स्याङ्दी गाउँपालिका–४ की ३१ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
संक्रमित महिला करिब पाँच दिनअघि भारतबाट फर्किएकी हुन् । उनी पालिकाको क्वारेन्टाइनमा बसेकी थिइन् ।
संक्रमित सञ्चारकर्मीलाई बेसीशहर नगरपालिका–७ स्थित शहरी विकास भवनमा निर्माण गरिएको आइसोलेशनमा र महिलालाई बेसीशहरमै रहेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्लामा हालसम्म ११ महिलासहित १४५ जना कोरोना संक्रमण देखिएको छ । तीमध्ये नौ जना महिलासहित १११ जनाले कोरोना जितेर घर फर्किसकेका छन् ।
हाल दुई महिला र ३२ जना पुरुष गरी ३४ जना जिल्लाको विभिन्न आइसोलेशनमा रहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।