चितवन । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म संक्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् । विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीका रुपमा मानेको छ । संक्रमित स्वास्थ्यकर्मीहरू चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्ने छन् । कूल संक्रमितमध्ये २४ प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ ।
जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कलेजका निर्देशक डा दयाराम लम्सालका अनुसार सात चिकित्सक, ३३ नर्स, एक पारामेडीक्स र पाँच सहयोगी गरी ४६ सङक्रमित भएकामा दुई जना निको भएका छन् । दोस्रो धेरै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ संक्रमित भएका छन् । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार चिकित्सक तीन, नर्स १९, पारामेडीक्स एक , प्रशासनका दुई र १८ सहयोगी संक्रमित भएका छन् । पुरानो मेडिकल कलेजमा ३६ संक्रमित भएका छन् । कलेजका डा प्रिया पाठकका अनुसार १० चिकित्सक, २० नर्स, तीन पारामेडीक्स र तीन सहयोगी संक्रमित भएका छन् ।
भरतपुर अस्पतालमा ३० संक्रमित भएको सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । उनका अनुसार चिकित्सक सात, नर्स नौ, पारामेडीक्स चार, प्रशासनका दुई र सहयोगी आठ संक्रमित भएका छन् । एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ मध्ये चिकित्सक एक, नर्स दुई, प्यारामेडीक्स एक, प्रशासनका एक र सहयोगी एक रहेको अध्यक्ष डा भक्तमान श्रेष्ठले जानकारी दिए । यसैगरी सेन्ट्रल अस्पतालमा तीन नर्स र दुई सहयोगी, मौलाकालिका अस्पतालमा दुई नर्स र दुई सहयोगी, आशा अस्पतालमा दुई नर्स र एक पारामेडिक्स, रत्ननगर बकुलहर अस्पतालमा एक चिकित्सक र एक नर्स, मनकामना अस्पतालमा एक नर्स, पुष्पाञ्जली हस्पिटलमा दुई प्यारामेडीक्स र एक सहयोगी संक्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार निजी मेडिकलका तीन, नेपाल रेडक्रस सोसाइटीका एक प्राविधिक र एक एम्बुलेन्स चालक संक्रमित भएका छन् । जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने चार, खैरहनीमा दुई र राप्तीमा एक स्वास्थ्यकर्मी संक्रमित भएको उनले जानकारी दिए । अन्य दुई एम्बुलेन्स चालक पनि संक्रमित भएका छन् । उपचारमा अहोरात्र खटिनेहरु नै संक्रमित भएपछि अस्पतालको सेवा सञ्चालनमा कठिन भइरहेको निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष नारायणसिंह कुँवरले बताए । जिल्लाका स्वास्थ्य संस्था सबैले नियमित तथ्याङ्क जिल्ला स्वास्थ्य कार्यालयमा अद्यावधिक नगरेको हुँदा संख्या अझ थप हुन सक्ने अनुमान गरिएको छ ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी संक्रमित हुँदै गर्दा अन्यले पालो मिलाएर रातदिन उपचार गरेको बताउछन् । स्वास्थ्यकर्मी संक्रमित हुँदा अस्पताल नियमित सञ्चालनमा निकै असजिलो हुने गरेको उनको भनाइ थियो । स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ्मा उनीहरूसँग काम गर्ने अन्य स्वास्थ्यकर्मी पनि पर्ने हुँदा अस्पताल बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र रत्ननगर बकुलहर अस्पतालका प्रमुख डा विश्ववन्धु बगालेसमेत संक्रमित भएपछि दुई अस्पताल निमित्तका भरमा चलिरहेका छन् ।