काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर एक हजार ४५४ जना संक्रमित थपिएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
यसअघि हिजो (बिहीबार) नेपालमा एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
मन्त्रालयका प्रवक्ताका अनुसारः
देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ ।
संस्थागत आइसोलेसनमा आठ हजार २९१ जना छन् ।
होम आइसोलेसनमा ६ हजार ६३४ जना छन् ।
देशभरका क्वारेन्टाइनमा ६ हजार ७८ जना छन् ।
आज जम्मा १० हजार ७०१ पिसिआर परीक्षण भएको छ । योसँगै हालसम्म आठ लाख २१ हजार १८६ पिसिआर परीक्षण भएको छ ।
गएको २४ घण्टामा ९२७ संक्रमित डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ३६ हजार ६७२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ३२२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमणको तुलनामा मृत्युदर ०.६२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।