मंसिर ०७, २०८१, शुक्रबार
               

होम आइसोलेसनमा बस्ने बढे

नेपाल फ्ल्यास
असोज ०९, २०७७

ADVERTISEMENT

रत्ननगर । पछिल्लो समय जिल्लामा होम आइसोलेसनमा बस्ने सङ्ख्यामा वृद्धि आएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार यहाँको हाल कोरोना सक्रिय सङ्क्रमित ९४३ रहेका छन् । त्यसमध्ये ६२६ होम आइसोलेसनमा बसेका छन् । बाँकी ३१७ जना संस्थागत आइसोलेसनमा बसेका छन् ।

कार्यालयमा प्रमुख दीपक तिवारीका अनुसार होम आइसोलेसनमा बस्ने मानिस इमान्दार भए अस्पतालमा जस्तै घरमा पनि सुरक्षित हुने भएकाले होम क्वारेन्टाइन प्रभावकारी देखिएको हो ।

‘लक्षण नभएकाहरु अस्पतालको आइसोलेसनमा बस्न उपयुक्त ठान्न छाडे’, उनले भने, ‘घरमा बसेपछि खानापाना पनि राम्रो हुने र छिटो निको हुने भएकाले पनि सङ्ख्यामा वृद्धि भएको हो, छुटै बस्न भौतिक संरचना नभएकाहरु संस्थागत आइसोलेसनमा बस्नुभएको छ ।’ यससँगै जिल्लामा सञ्चालनमा रहेका क्वारेन्टिन पनि विस्तारै खाली हुँदै गएको छ ।

लक्षण नभएका सङ्क्रमित अस्पताल जाँदा शय्याको अभावमा जटिल बिरामीको उपचारमा समस्या आउने भएकाले पनि होम आइसोलेसनमा बस्न सरकारको निर्देशन छ । लक्षण देखिएका कोरोना सङ्क्रमित अस्पताल जानुपर्ने सरकारको मापदण्ड निर्धारण गरेकाले पनि होम आइसोलेसनमा बस्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको प्रमुख तिवारीले बताए ।

होम आइसोलेसनमा बसेर कोरोना सङ्क्रमणमुक्त महिलाका अनुसार होम आइसोलेसनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ । घरमै परिवारबाट छुट्टै बसरे गुर्जो, बेसारपानी र स्वासस्प्रस्वाससम्बन्धी व्यायाम गरे छिट्टै कोरोनालाई परास्त गर्न सकिन्छ । हाल होम आइसोलेसनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ४४९ जना बसेका छन् ।

रत्नननगरमा ६५, खैरहनीमा ५६, राप्तीमा २५, कालिकामा २१, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा पाँच र पाँच जना छन् । चितवनमा अहिलेसम्म एक हजार ६७७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् । जसमध्ये पुरुष ९९३ र महिला ६८४ छन् । त्यसमध्ये ७१५ कोरोना निको भई घर फर्किएका छन् भने १८ जनाको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि