मंसिर ०७, २०८१, शुक्रबार
               

टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीन जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ८२५ जना पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । 

वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा नं ३ मा सबैभन्दा धेरै ९५ कोरोना सङ्क्रमित भेटिएका छन् । वडा नं २ मा ५१, वडा नं ४ मा ४३, वडा नं  ५ मा ८६, वडा नं ६ मा ९१, वडा नं ७ मा ८०, वडा नं ८ मा ९४, वडा नं ९ मा ५५, वडा नं १० मा ६६ र वडा नं ११ मा ६२ संक्रमित छन् । 

कोरोना संक्रमितमध्ये ४४४ जना निको भएर घर फर्किसकेको, ३०४ जना होम आइसोलेसन र ६९ संक्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । तीमध्ये पाँचजना अहिलेसम्म सम्पर्कविहिन छन् । 

टोखामा हालसम्म कोरोना सङ्क्रमणका कारण तीनजनाको मृत्यु भइसकेको छ । वडा नं ४, ६ र ९ मा एक–एक जनाको मृत्यु भएको प्रवक्ता बस्यालले बताए । काठमाडौं महानगरपालिका पछि सबैभन्दा धेरै कोरोना संक्रमित भएको नगरपालिका टोखा हो ।

टोखा नगरपालिकाले कोरोना संक्रमित बिरामीको उपचारका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा १७ शय्याको आइसोलेसन सेन्टर स्थापना गरेर बिरामीको उपचार गराउँदै आएको छ । नगरपालिकामा कोरोना सङ्क्रमितको दर बढेसँगै उक्त आइसोलेसन सेन्टरको समेत स्तरोन्नति गरिने नगरप्रमुख प्रकाश अधिकारीले बताए ।

नगरपालिकाभित्रका ११ वटै वडामा टोखाले पिसीआर परीक्षणको दायरालाई समेत बढाएको छ । टोखाले  प्रत्येक वडामा १०० जनाका दरले परीक्षण गरेको छ । नगरपालिकाले यसअघि नै कोरोना पोजेटिभ देखिएर होम आइसोलेसनमा बसेका बिरामीलाई प्रतिदिन ३५० रुपैयाँ भत्ता दिने निर्णयसमेत गरिसकेको छ । नगरपालिकाले कोरोना सङ्क्रमित भएर होम आइसोलेसनमा बसेका बिरामीलाई भेटेर हौसला प्रदान गर्दै आएको छ ।

नगरप्रमुख अधिकारीले नगरपालिका भित्र कोरोना संक्रमितको सङ्ख्या बढ्दै गए नगरपालिकाभित्र रहेका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी, ग्रिनसिटी अस्पताल बसुन्धरा, अल नेपाल अस्पताल सामाखुशी, विनायक अस्पताल गोङ्गबुसँग सहकार्य गरेर बिरामीको उपचार गरिने बताए । 


कस्तो लाग्यो ?

यो पनि