हेटौंडा । बागमती प्रदेशसभा सदस्य (सांसद) मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरकी अध्यक्ष समेत रहेकी प्रदेशसभा सदस्य सिग्देलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको वानकारी सार्वजनिक गरेकी हुन् ।
असोज ५ गते हेटौंडाबाट काठमाडौं जाने क्रममा सामान्य रुघाखोकीको लक्षण देखिएपछि उनले पिसिआर परीक्षण गरेकी थिइन् ।
पिसिआर रिर्पोमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेकी छिन् । आफ्नो स्वास्थ अवस्था सामान्य रहेको उनले बताएकी छिन् ।
मुनु सिग्देल पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा हुन् ।