काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेको छ ।
दिनप्रतिदिन कोरोना भाइरस संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको हो । 'जहाँ छौं, त्यही दशैं मनाऔँ', मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने ।
साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको प्रवक्ता डा. गौतमले बताए ।
यसैबीच मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालमा रहेका कोरोना संक्रमितलाई १० दिनमै घर पठाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार लक्षण नभएका संक्रमितको १० दिनमा पिसिआर परीक्षण गर्ने र नेगेटिभ रिपोर्ट आए डिस्चार्ज गर्ने निर्णय भएको छ ।
लक्षण देखिएका संक्रमितलाई भने १४ दिनपछि पिसिआर नगरी डिस्चार्ज गरिने गौतमले बताए ।