मंसिर ०७, २०८१, शुक्रबार
               

रुपा गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

कास्की । रुपा गाउँपालिकाले आफ्नै एम्बुलेन्स मार्फत जनतालाई सेवा दिने भएको छ । महात्मा गान्धीको १५१ औँ जन्म जयन्तीका अवसरमा भारतीय दुतावासले उपहार स्वरुप गाउँपालिकालाई एम्बुलेन्स उपलब्ध गराएपछि गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउन लागेको हो । 

सात वडा रहेको रुपामा यसअघि कोही बिरामी पर्दा अस्पतालसम्म लैजान पोखराबाट एम्बुलेन्स लिन जानुपर्ने बाध्यता रहेको थियो । सांसद खगराज अधिकारीले सो एम्बुलेन्सको साँचो आइतबार गाउँपालिकालाई हस्तान्तरण गरे ।

गाउँपालिका अध्यक्ष नवराज ओझाले कार्यविधि बनाएर गाउँपालिका आँफैले सहुलिएत दरमा सञ्चालन गर्ने बताए । कोरोना संक्रमण रोक्न आह्वान गरिएको बन्दाबन्दीका अवधिमा समेत गाउँपालिकाले भाडामा लिएर एम्बुलेन्स सेवा निःशुल्क सञ्चालन गरेको थियो ।

उनले भने, ‘लकडाउनका बेला रेडक्रसको एम्बुलेन्स भाडामा लिएर हामीले जनतालाई निःशुल्क सेवा दिएका थियौँ, अब आफ्नै एम्बुलेन्स भएपछि जिल्ला दररेटमा ५० प्रतिशत सहुलियतमा सेवा दिन्छौँ, कोही बिरामी पर्दा एम्बुलेन्सको खोजीामा घण्टौ समय खर्चिनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

गाउँपालिकाले एक जना विशेषज्ञ चिकित्सक सहित पाँच शय्याको अस्पताल सञ्चानमा ल्याएको छ । चालू आर्थिक वर्षमा सो अस्पतालको स्तरोन्नती गरी १५ शय्यामा विस्तार गर्नका लागि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

रुपाका सात वटै वडामा प्रयोगशाला सहितको स्वास्थ्यचौकीबाट जनतालाई सेवा प्रवाह गरिने लक्ष्य राखिएको छ । हाल वडा नं २ र ३ मा स्वास्थ्यचौकी नभएकाले भवन निर्माणाधीन रहेको गाउँपालिकाले जनाएको छ । सांसद अधिकारीले गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनका लागि संघीय सरकारले सहयोग गर्ने जानकारी दिए ।  

यो पनि