काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।
लक्षणसहितका कोरोना संक्रमितको संख्या बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो ।
कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षासहित यस्तो निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सबै सरकारी अस्पताल कोभिड अस्पताल
यसैबीच, सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
बैठकले अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।