चितवन । चितवनमा कोरोना संक्रमणबाट जनप्रतिनिधिसहित दुई जनाको मृत्यु भएको छ ।
खैरहनी नगरपालिकाका-१२ का वडा सदस्य बद्रीबहादुर पाण्डेको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमित ४१ वर्षीय वडा सदस्य पाण्डेको आज (शनिबार) बिहान मृत्यु भएको वडाध्यक्ष टीकाराम तिमल्सिनाले जानकारी दिए । उनी स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।
उनमा दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी क्यान्सरबाट समेत पीडित थिए ।
यसैबीच चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका-६ की ६८ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
ज्वरो, खोकी र निमोनियाको समस्या भएपछि ती महिलालाई गत असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । २७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोभिड आइसियूमा उपचाररत उनको आज बिहान २ बजेर ८ मिनेटमा उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।