जनकपुर । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीलाई आइसियूमा भर्ना गरिएको छ ।
उनीहरुको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आइसियूमा भर्ना गरिएको हो ।
कलेज परिसरमै कार्तिक १६ गतेदेखि अनसनमा बसेका कर्मचारीद्वय जानकीशरण यादव र कुलदिप साहको स्वास्थ्य अवस्था बिग्रेपछि प्रहरीले बुधबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएको हो ।
कलेज व्यवस्थापनले कर्मचारीसँग विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै अस्पतालका दुई जना कर्मचारी कार्तिक १६ गतेदेखि आमरण अनसनमा बसेका थिए ।
कर्मचारीहरुले आकस्मिक बाहेकका सबै सेवाहरू गत असोज १२ गतेदेखि नै ठप्प गरेका छन् ।
उनीहरुले कलेजले आफूहरुको विगत ६ वर्षदेखिको सञ्चय कोष, पाँच वर्षको दसैं खर्च र नियमित तलब भत्ता दिनुपर्नेलगायतका माग राख्दै एक महिनादेखि धर्ना समेत दिएका थिए ।