गलकोट । कोरोना कहरमा सुरुको समय अत्यन्तै कठिन थियो । कोरोना संक्रमित मात्रै होइन, कोरोनाको आशङ्का गरिएकालाई समेत अस्पताल ल्याउन एम्बुलेन्स चालकले नमानेको अवस्था थियो ।
नेपालकै छैटौँ संक्रमितका रूपमा रहेकी बागलुङ नगरपालिका–३ की ६५ वर्षीय महिलालाई लिन गत चैत दोस्रो हप्ता अस्पतालबाट हिँड्न थालेको रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएपछि स्वास्थ्य कार्यालयका सवारी चालकले संक्रमितलाई अस्पताल ल्याएका थिए ।
यस्तो घटना पुनः काठेखोला गाउँपालिका–५ मा आरडिटी पोजेटिभ देखिएकी एक महिलालाई बोक्न रेडक्रस बिहुँ शाखाका एम्बुलेन्स चालक मानेनन् ।
सुरुमा केही असहज परिस्थितिमा एम्बुलेन्स चालक संक्रमित बोक्न नमानेपछि नेपाल रेडक्रस सोसाइटी बिहुँ शाखा र पैयुपाटा स्वास्थ्यचौकीको एम्बुलेन्सले कोरोना संक्रमित बोक्न थालियो ।
यद्यपि चालकको अभावै खड्किएपछि बागलुङ नगरपालिकाका हलुका सवारी चालक कमल कार्कीलाई मानवीय भावना पैदा हुन थाल्यो र स्वतःस्फूर्तरूपमा कोरोना संक्रमितलाई बोक्न थाले ।
गत चैत महिनाको पहिलो सातासम्म बागलुङ नगरपालिकाका प्रमुखको सवारी चलाउँदै आएका काठेखोला गाउँपालिका–७ रेशका ४० वर्षीय कार्कीले नगरपालिकाकै अर्का सवारी चालकलाई नगरप्रमुखको सवारी चलाउन दिएर आफूले संक्रमितलाई एम्बुलेन्समा बोक्दै आए ।
अन्य समयमा नगरपालिकाको अर्को सवारीमा स्वाब संकलनमा जाने स्वास्थ्यकर्मी बोक्दै आएका थिए । १७ वर्षदेखि नगरपालिकामा काम गर्दै आएका कार्कीले १४ वर्षदेखि नगरपालिकाको सुरुमा कार्यकारी अधिकृतको सवारी र पछिल्लो समय नगरप्रमुखको सवारी चलाउँदै आए पनि गत चैतदेखि उनले एम्बुलेन्स र नगर स्वास्थ्यकर्मीको सवारी चलाउँदै आएका छन् । अहिलेसम्म १८० संक्रमित र दुई संक्रमितको शव एम्बुलेन्समा बोकिसकेको चालक कार्कीले बताए ।
‘सुरुमा एम्बुलेन्स चालक संक्रमित बोक्न नमानेको कुरा मैले सुनेको थिएँ, संक्रमितले चालक नपाएर दुःख पाएको थाहा पाएपछि मेयर’सापको सवारी चलाउँदै आएको म एकाएक एम्बुलेन्स चलाउन थालेँ’, सवारी चालक कार्कीले भने, ‘आखिर चालकले सवारी नै चलाउने हो, संकटमा मानवीय सेवा गर्नुपर्छ भन्ने कुरा मनमा आएपछि संक्रमित बोक्न थालेको हुँ ।’
नगरपालिकाको चालक रहेका कार्कीले नगरपालिकाको स्वास्थ्य शाखाको सवारीसमेत चलाउँदै आएका छन् । उनले नगरपालिकामा कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब संकलन गर्न जाने स्वास्थ्यकर्मी र क्वारेन्टिनमा खाना पुर्याउनका लागि समेत नगरपालिकाको सवारी चलाउँदै आएका छन् ।
‘संक्रमित बोक्ने बाहेक मैले कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीलाई गाउँमा पुर्याउने काम गर्दै आएको छु’, कार्कीले भने, ‘आफू सुरक्षित भएर संक्रमित बोक्दा संक्रमण सर्ने जोखिम हुँदैन ।’
पिपिइको प्रयोग गरेर संक्रमित बोक्दा संक्रमण नसर्ने भएकाले अन्य चालकलाई समेत नडराउन उनले सुझाव दिए । उनले नगरपालिकाको चालकले पाउने तलब भत्ताबाहेक अग्रमोर्चामा खटिने जोखिम भत्ता र संक्रमित बोकेको भत्तासमेत पाउँदै आएका छन् । एकपटक संक्रमित बोकेमा बागलुङ नगरपालिकाले दुई हजार ५०० रुपैयाँ दिँदै आएको कार्कीले बताए ।
अन्य समयभन्दा पिपिइ लगाएर सवारी चलाउँदा निकै समस्या हुने कार्कीको अनुभव छ । उनले बलेवाको अमलाचौर, भकुण्डे, पैयुपाटा, बिहुँसम्म पुगेर संक्रमितलाई एम्बुलेन्समार्फत धवलागिरि अस्पताल ल्याउँदै आएका छन् ।
निकै जोखिमपूर्ण काम रहेको भन्दै एम्बुलेन्स चालकले हात धोएको समयमा आफूले जागिरभन्दा पनि संकटमा मानवीय सेवा र दायित्व सम्झेर सहयोग मात्रै गरेको कार्कीको भनाइ छ ।
‘धेरैबेर पिपिइ लगाएर सवारी चलाउन निकै समस्या हुन्छ, दिसापिसाबसमेत रोकेर राख्नुपर्ने हुन्छ’, उनले भने, ‘जागिर मात्रै खाने भए त मलाई कुनै दुःख गर्नुपर्ने थिएन, सरर... एसी गाडीमा मेयर’सापलाई बोक्दा सहजै हुन्थ्यो, तर संकटको घडीमा केही सेवा गरौँ भन्ने लागेर एम्बुलेन्स चालक भएँ ।’
एउटै एम्बुलेन्समा आठ जनासम्म कोरोना संक्रमित एकैपटक बोकेको अनुभवसमेत कार्कीसँग छ । बागलुङ जिल्लाको अन्य स्थानीय तहमा भन्दा बागलुङ नगरपालिकामा धेरै संक्रमित भएका कारण आफूले जिल्लामै सबैभन्दा बढी संक्रमित बोकेको उनको भनाइ छ ।
सुरुमा गाउँबाट समेत संक्रमितलाई जिल्ला सदरमुकामस्थित धवलागिरि अस्पतालमा उपचारका लागि ल्याउनपर्ने भएकाले आफूले धेरै संक्रमित बोक्ने अवसर पाएको उनको भनाइ छ । अहिलेसम्म सुरक्षित भएर एम्बुलेन्स चलाएका कारण आफूलाई कोरोना संक्रमण नभएको उहाँको भनाइ छ ।
परिवारसँग छुट्टै बस्नुको पीडा
संक्रमित बोक्न थालेपछि कार्की अधिकांश समय परिवारबाट अलग्गै बस्दै आएका छन् । संक्रमित बोकेको अवस्था र संक्रमणको जोखिम लागेमा नगरपालिकाको स्वास्थ्य शाखामै बस्दै आएका कार्की पिसीआर रिपोर्टका आधारमा मात्रै परिवारसँग बस्दै आएका छन् ।
‘चैतदेखि यता धेरै समय परिवारसँगै छुट्टै बस्दै आएको छु’, कार्कीले भने, ‘आफूलाई लागिहाले पनि परिवारलाई नसरोस् भन्नका लागि अधिकांश समय छुट्टै बस्दै आएको छु ।’
प्रतिवादी र जुवाडेले हिरासत भरियो, कोरोना जोखिम बढ्यो
पछिल्लो समय बागलुङ प्रहरीको सक्रियतासँगै धमाधम फरार प्रतिवादी र जुवाडे पक्राउ परेका छन् । हालसम्म १३९ फरार प्रतिवादी र २८ जुवाडे पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसरी धमाधम पक्राउ गरेको प्रतिवादी र जुवाडेका कारण हिरासत र कारागारमा समेत कोरोनाको जोखिम बढेको छ ।
कोरोना संक्रमणको जोखिमका बीच प्रहरीले धमाधम पक्राउ गरेपछि हिरासत र कारागारमा कोरोना जोखिम बढेको हो । यद्यपि प्रहरीले सक्दो सचेतता अपनाइएको जनाएको छ ।
कोरोनाको जोखिममा केही चुनौती देखिए पनि हालसम्म सक्दो सुरक्षा सचेतता अपनाएर पक्राउ गरिएकालाई हिरासतमा राखिएको बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘हिरासतलाई चार भागमा विभाजन गरेका छौँ’, श्रेष्ठले भने, ‘हामीले पिसीआर गरेर मात्रै हिरासत र कारागारमा पठाउँदै आएका छौँ, यसमा धवलागिरि अस्पतालले समन्वय गरिराखेको छ, पिसीआर गरेको, नमूना संकलन गरेको र नयाँलाई छुट्टाछुट्टै कोठामा राख्दै आएका छौँ ।’
कारागारमा समेत पछिल्लो समयमा ७० फरार प्रतिवादी थपिँदासमेत कोरोना संक्रमण नफैलिएको कारागार प्रमुख मोहन उपाध्यायले जानकारी दिए । ‘हालसम्म ७० जना जति नयाँ कैद भुक्तानका लागि थपिए, उच्च सतर्कता अपनाउनाले हालसम्म कोरोनाको लक्षणसमेत देखिएको छैन’, कारागार प्रमुख उपाध्यायले भन्नुभयो, 'कारागारको क्षमता विस्तार गरेका छौँ, पिसीआर गरेर प्रहरीले पठाउँदासमेत नयाँ कैदीबन्दीलाई अहिले बनेको नयाँ भवनमा राख्दा सहज भएको छ ।’
उपाध्यायका अनुसार फरार प्रतिवादीमध्ये ३० जना एक वर्षसम्मको कैद भएकालाई कोरोना जोखिमलाई ध्यानमा राखेर जिल्ला अदालतले सजायलाई रकममा बदलेर भुक्तानीपश्चात छाडिसकेको छ ।
कारागारमा हाल १४२ कैदीबन्दी छन् । सुरुमा ४५ जना क्षमताको कारागार हालै विस्तार भएर ९० जना क्षमताको बनाइएको छ । प्रहरीले पिसीआर गरेर मात्रै हिरासत र कारागार पठाएपछि धमाधम कारागारमा कैदी र पक्राउ गरी हिरासतमा राखिएका थपिँदासमेत कोरोना संक्रमणको जोखिम नभएको प्रहरीको भनाइ छ ।