काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।
नेपाल स्वास्थ्यकर्मी युनियनका केन्द्रीय सहसचिव गौरीशंकर देवको कोरोना संक्रमणपछि उपचारका क्रममा गएराति मृत्यु भएको हो ।
सप्तरीको राजविराज स्थायी ठेगाना भएर सिराहाको कल्याणपुर नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख (जनस्वास्थ्य अधिकृत) देवको गएराति विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको युनियनले जनाएको छ ।
देवले ३० वर्षदेखि स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका थिए ।
नेपाल स्वास्थ्यकर्मी युनियनले देवको निधनमा दुःख व्यक्त गर्दै कुशल युनियनकर्मी गुमाएको जनाएको छ ।