विराटनगर । कोरोना संक्रमणका कारण मोरङका तत्कालीन पथरी गाविस अध्यक्षको मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा मोरङको साबिक पथरी गाउँविकास समिति (गाविस) अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको मृत्यु भएको हो ।
उनी फुटबल खेलाडी दीपक राईका बुबा हुन् ।
राईको मंगलबार बिहान ४ः३० बजेतिर मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।
पथरी शनिश्चरे नगरपालिका–१ घर भएका राईलाई कात्तिक २१ गते कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचारक क्रममा स्वास्थ्यमा केही सुधार भएपछि घर आएर आराम गरिरहेका थिए ।
तर एक्कासी पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।
२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई सामाजिक गतिविधिमा सक्रिय थिए ।