काठमाडाैं । सबै चाडपर्वको आ–आफ्नै विशेषता र महत्त्व छ । शरीरलाई चुस्त र तन्दुरुस्त राख्नका लागि विशेष खानेकुराको महत्व दर्शाउन पूर्खाहरुले मौसम अनुसार विभिन्न चाडपर्वको प्रचलन चलाएका हुन् ।
जाडोमा माघे संक्रान्ती मनाइन्छ ।माघे संक्रान्तीमा घिउ, चाुक, तिल, सख्खरजस्ता तागतयुक्त र शरीरलाई न्यानो राख्न खानेकुरा खाने प्रचलन छ । । त्यस्तै, कब्जियत नहोस् भन्नका लागि तरुल, पिडालु लगायतका कन्दमुल खाने गरिन्छ ।
घिउ, चाकु, तिल, सख्खरकाे महत्त्व
माघे संक्रान्तिको अवसरमा माघको पहिलो दिन खाइने घिउ, चाकु तथा सख्खरले शरीरलाई शक्ति प्रदान गर्नुका साथै शरीरलाई भित्रबाटै न्यानो बनाइराख्छ । साथै, यसले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्छ ।
त्यतिमात्र हैन, चाकु, तथा सख्खरले शरीरमा आवश्यक विभिन्न खनिज पदार्थको आपूर्ति समेत गर्छ । घिउ आफैमा अन स्याचुरेटेड फ्याटी एसिड भएकोल यसले शरीरमा बोसो जम्न दिदैन । बरु शरीरलाई आवश्यक पर्ने चिल्लोको प्रवाह गरी शरीरलाई बलियो बनाउन मद्दत गर्छ ।
घिउलाई सन्तुलित रूपमा प्रयोग गर्न सकेमा शरीरलाई ताप प्राप्त हुन्छ । यसको प्रयोग यसकारण गरिन्छ कि जाडो याममा हामीलाई बढी उर्जाको आवश्यकता हुन्छ । उक्त उर्जा घिउ, चाकु, सख्खरबाट प्राप्त हुन्छ भन्ने मान्यता छ । चाकुबाट अत्यधिक मात्रामा ग्लुकोज प्राप्त गर्न सकिन्छ । चाकुबाट क्यालोरी, कार्बोहाइड्रेड र आइरनसमेत प्राप्त गर्न सकिन्छ । तर, मधुमेह र मिर्गौलाका बिरामीले भने यसको बढी प्रयोग गर्नु हुँदैन ।
उखुलाई आगोमा खारेर चाकु बनाइन्छ । त्यही चाकु माघे संक्रान्तिमा भगवानलाई अर्पण गर्दै पवित्र प्रसादका रूपमा ग्रहण गरिन्छ । यसका आफ्नै धार्मिक तथा सांस्कृतिक कारण पनि छन् ।
यस्तै, तिल आफैँमा नजम्ने अनस्याचुरेटेड फ्याटी एसिड हो । यसले पाचन प्रकृयालाई बलियो बनाउनुका साथै शरीरमा प्रशस्त मात्रामा भिटामिन ‘ई’ को प्रवाह गर्छ । तिलमा प्रशस्त मात्रामा खनिज पदार्थ हुन्छ । त्यसैले यसले रोगसित लड्न पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।