पर्सा । पर्सामा आज एकै दिन १६९ जना कोरोना संक्रमित फेला परेका छन् । वीरगञ्जको नारायणी अस्पतालमा २८८ जनाको स्वाबको नमूना परीक्षण गर्दा आज बिहान आएको रिपोर्टमा १० वर्षदेखि ७७ वर्ष उमेर समुहका १३३ पुरुष र ३६ महिलामा संक्रमण पुष्टि भएको हो ।
भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पर्साबाट १४० रहेका छन भने बाराबाट २४, रौतहटबाट तीन र सप्तरी तथा दैलेखका एक–एक जनामा संक्रमण पुष्टि भएको नारायाणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।
उनले कोरोना संक्रमणको दोस्रो छालमा फेला परेका संक्रमितमध्ये यो सबैभन्दा बढी सङ्ख्या रहेको बताए । यससँगै पर्सामा संक्रमितको कुल सङ्ख्या चार हजार ३१७ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको सङ्ख्या एक हजार १३५ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।