विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ । यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ ।
कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान सहरबाट सुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सबभन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट सुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।
पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।
सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ/नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् ।