स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेसकी पत्नी बेगोना गोमेजलाई नोवेल कोरोना सङ्क्रमण भएको स्पेनका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
साथै मन्त्रिपपरिषद्का सदस्यहरूको स्वास्थ्य परीक्षण गर्दा दुई जना मन्त्रीमा समेत कोरोना संक्रमण भएको पुष्टि भएको छ । संक्रमण हुनेहरूमा मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास रहेका छन् । स्पेनमा कोरोनाको संक्रमण तीव्र भएपछि प्रधानमन्त्री सान्चेसले रोकथामका लागि मुलुकभरका चार करोड ६० लाख मानिस घरभित्रै क्वारेन्टाइनमा रहने बताएका छन्।
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएसँगै स्पेनले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो । प्रधानमन्त्री सान्चेसले खाद्यान्न खरिद गर्न, अस्पताल वा औषधि खरिदका लागि, बैंकबाट रकम निकाल्न, परिवारको सदस्य बिरामी भएमा सहयोग गर्न र अत्यावश्यक कामका लागि मात्र घरबाट बाहिर निस्कन सरकारले अनुरोध गरे ।
यसअघि सरकारले शुक्रबारदेखि नै मुलकभर आपतकालीन अवस्थाको घोषणा गरेको थियो। युरोपमा इटालीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित भएको छ । स्पेनमा शनिबारसम्म कोरोनाका कारण मृत्यु हुने संख्या १९६ पुगेको छ ।